दुर्लभ सर्प राज गोमन (किङ कोब्रा) संरक्षणमा चिन्ता
पाेखरा | कात्तिक ७, २०७९
तस्बिर साभार
पोखरा : नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरु गरेका छन् ।
अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू प्रकृतिका साथीहरू काठमाडौँ, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५ ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे । राज गोमन एकमात्र सर्प हो जसले फुल पार्दा गुँडसमेत बनाउने गर्छ ।
सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताउनुभयो । “नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ”, आचार्यले भन्नुभयो, कहिलेकाहीँ आफ्नै प्रजातिको सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।”
“नेपालको कानूनले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम भाइल प्रयोग गर्नु राम्रो हुन्छ तर त्यस्तो स्नेक एन्टिभेनम नहुँदा पोलिभलेन्ट लगाउने गरिन्छ”, आचार्यले भन्नुभयो, “यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।” नेपालमा पोलिभलेन्ट नै प्रयोग हुँदै आएको र पोलिभलेन्ट करेत, कमन कोब्रा र दुई भाइपर सर्प प्रजातिको विष सम्मिश्रण गरी तयार पारिने जानकरी सो अवसरमा दिइएको थियो ।
सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिनुभयो । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्याङ्क सो अवसरमा विज्ञहरूले दिएका छन् ।
“गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्छ, बिरामीले आँखा उघार्न सक्दैन, मुख बन्द हुन्छ, मुखबाट जिब्रोबाहिर निकाल्न सक्दैन, पानी निल्न असजिलो हुन्छ, हातखुट्टा तथा मांसपेशी चल्न कठिन, मुखबाट ¥याल छाड्ने हुन्छ”, सर्पसम्बन्धी अनुसन्धान गर्दै आउनुभएका अभिषेक सापकोटाले भन्नुभयो, “विषलु सर्पले टोक्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पु¥याउनु पर्छ ।”
नेपालकै एक संस्थाको अध्ययनअनुसार सर्पको टोकाइबाट अधिकांश महिला र बालबालिकाको मृत्यु हुने गरेको छ । तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्याङ्क उक्त अध्ययनबाट खुल्न आएको छ । सर्पले अधिकांश मानिसमा घुँडाभन्दा तल्लो भागमा टोक्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गरेको र यीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क उक्त अवसरमा दिइएको थियो । नेपालमा पाइने २२ प्रजाति विषालु छन्, तीमध्ये गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर स्नेक (कर्कट नाग) धेरै विषालु मानिन्छ ।
छलफल कार्यक्रममा जिल्ला वन कार्यालय, प्रदेश कार्यालय तथा वन मन्त्रालयका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

